मदन द्वादशी व्रत कथा

चैत शुक्ल पक्ष

धर्मराज युधिष्ठिरले भगवान् श्रीकृष्णलाई भन्नुभयो - "हे प्रभो! दैत्यहरूको जननी माता दितिले जुन व्रतद्वारा उनन्चास मरुद्गणहरूलाई पुत्रका रूपमा प्राप्त गर्नुभएको थियो, कृपा गरेर त्यस उत्तम व्रतको वर्णन गर्नुहोस्। म त्यस व्रतका विषयमा जान्न उत्सुक छु।"

भगवान् श्रीकृष्णले भन्नुभयो - "महाराज! प्राचीनकालमा वसिष्ठ आदि ऋषिहरूले जुन मदन द्वादशी व्रतको वर्णन माता दितिका सामु गर्नुभएको थियो, म त्यसको विस्तृत वर्णन गर्दैछु, तपाईं श्रवण गर्नुहोस्। चैत महिनाको शुक्ल पक्षको द्वादशी तिथिको अवसरमा व्रतीले चामलले भरिएको प्वाल नभएको एउटा घडामा सेतो चन्दनको लेप गरी त्यस घडाको स्थापना गर्नुपर्छ। घडाको अगाडि विभिन्न प्रकारका ऋतुफल र उखुका टुक्राहरू राख्नुहोस्। त्यो घडा विभिन्न प्रकारका खाद्य सामग्रीहरूले युक्त हुनुपर्छ तथा त्यसमा यथाशक्ति सुनका टुक्राहरू पनि हाल्नुपर्छ। त्यसपछि सख्खर (गुँड) ले भरिएको एउटा तामाको पात्र घडामाथि स्थापना गर्नुहोस्।

त्यसपछि केराको पातमा कामदेव र उहाँको देब्रे भागमा चिनीयुक्त देवी रतिको स्थापना गर्नुहोस्। धूप, दीप तथा नैवेद्यद्वारा उनीहरूको पूजन गर्नुहोस् तथा गायन-वादनसहित भगवान् विष्णुको कथा आयोजना गर्नुहोस्। पुनः श्रद्धापूर्वक ब्राह्मण भोजन गराएर स्वयं पनि नुन नभएको आहार ग्रहण गर्नुहोस् तथा ब्राह्मणहरूलाई दक्षिणा प्रदान गर्दै यस प्रकार भगवान्‌सँग प्रार्थना गर्नुहोस् - "जुन समस्त प्राणीहरूको हृदयमा विद्यमान रहनुहुन्छ र जसलाई आनन्द भनिन्छ, ती कामरूपी भगवान् जनार्दन मेरो यस अनुष्ठानबाट प्रसन्न हुनुहोस्।"

उपरोक्त विधिले प्रत्येक महिनामा मदन व्रतको पालन गर्नुपर्छ। व्रतीले द्वादशीका दिन अमलाको फल सेवन गरी भुइँमा सुत्नुपर्छ तथा त्रयोदशीका दिन भगवान् विष्णुको विधिवत् पूजन गर्नुपर्छ। तेह्रौँ महिना आएपछि यथाशक्ति घृतधेनु (घिउको गाई) सहित समस्त सामग्रीहरूले सम्पन्न शय्या, कामदेवको स्वर्ण निर्मित प्रतिमा तथा सेतो रङ्गको दुधालु गाई ब्राह्मण देवतालाई अर्पित गर्नुपर्छ। सामर्थ्यअनुसार पत्नीसहित ब्राह्मण देवको पूजन गर्दै 'तपाईं प्रसन्न हुनुहोस्' भन्नुपर्छ।

त्यसपछि त्यस व्रतधारीले कामदेवका नामहरूको कीर्तन गर्दै गाईको दूधबाट निर्मित हवि र सेतो तिलले हवन गर्नुपर्छ। त्यसपछि कञ्जुस्याइँ त्यागेर ब्राह्मण भोजनको आयोजना गर्नुपर्छ तथा यथासामर्थ्य उखु, पुष्पमाला आदि प्रदान गरी उनीहरूलाई सन्तुष्ट पार्नुपर्छ। जसले यसरी मदन द्वादशी व्रतको अनुष्ठान गर्दछ, उसले यस लोकमा पुत्र-पौत्रादिको सुख भोग्दछ तथा अन्त्य समयमा समस्त पापहरूबाट मुक्त भएर भगवान् विष्णुको सायुज्य प्राप्त गर्दछ।

दितिद्वारा यस व्रतको अनुष्ठान गर्दा महर्षि कश्यप उनीसामु प्रकट हुनुभयो र आफ्नो तपोबलले महर्षिले दितिलाई उनको यौवन र तरुणावस्था प्रदान गरिदिनुभयो। त्यसपछि महर्षि कश्यपले दितिलाई इच्छित वर प्रदान गर्ने मनसाय प्रकट गर्दै वरदान माग्न आग्रह गर्नुभयो। दितिले भनिन् - 'हे पति परमेश्वर! कृपया वरदान स्वरूप मलाई यस्तो पुत्र प्रदान गर्ने कृपा गर्नुहोस्, जो इन्द्रको वध गर्न सक्षम होस्। उ अत्यन्त अजेय, पराक्रमी तथा महान् आत्मबलले सम्पन्न हुनुपर्छ।'

देवी दितिको मनोकामना सुनेर महर्षि कश्यपले भन्नुभयो - 'तथास्तु! हे देवि! त्यस्तै हुनेछ।' मुनिवर पुनः भन्नुहुन्छ - 'हे वरानने! तिमीले एक सय वर्षसम्म यसै तपोवनमा निवास गरी प्रयत्नपूर्वक आफ्नो गर्भको रक्षा गर्नुपर्नेछ। हे वरवर्णिनि! गर्भवती स्त्रीले सन्ध्याकालमा भोजन गर्नुहुँदैन। उसले रुखको फेदमा पनि बस्नुहुँदैन, न त त्यसको अगाडि जानु नै हुन्छ। मुसल, ओखल आदि घरका सामग्रीमा पनि बस्नुहुँदैन। जलमा प्रवेश गरी स्नान गर्नुहुँदैन, सुनसान घरमा जानुहुँदैन, मानिसहरूसँग वादविवाद गर्नुहुँदैन तथा शरीरलाई बटार्नु वा तन्काउनु हुँदैन।

गर्भवतीले कपाल फुकाएर बस्नुहुँदैन, कहिल्यै अपवित्र रहनुहुँदैन, उत्तर दिशामा शिर पारेर तथा कतै तल शिर पारेर सुत्नुहुँदैन। उसले निर्वस्त्र एवं उद्विग्न चित्त रहनुहुँदैन। न त कहिल्यै भिजेको खुट्टा लिएर सुत्नु नै हुन्छ, अमङ्गलसूचक वाणीको प्रयोग गर्नुहुँदैन तथा धेरै चर्को स्वरमा हाँस्नुहुँदैन।

गर्भिणी स्त्रीले निरन्तर माङ्गलिक कार्यहरूमा तत्पर रहेर गुरुजनहरूको सेवा गर्नुपर्छ तथा आयुर्वेदमा वर्णित गर्भवती स्त्रीका लागि उत्तम औषधिहरूले युक्त मनतातो पानीले स्नान गर्नुपर्छ। उसले दुष्ट स्त्रीहरूसँग कुराकानी गर्नुहुँदैन, वस्त्रले हावा लिनुहुँदैन। मृतवत्सा अर्थात् जसको सन्तानको मृत्यु भएको छ, त्यस्तो स्त्रीको नजिक बस्नुहुँदैन। अरूको घरमा जानुहुँदैन, छिटो-छिटो हिँड्नुहुँदैन, ठूला नदीहरू तर्नुहुँदैन तथा भयङ्कर एवं वीभत्स दृश्यहरू हेर्नुहुँदैन। नपचेको भोजन तथा कठिन व्यायाम आदि गर्नुहुँदैन। हृदयमा डाहको भाव राख्नुहुँदैन तथा औषधिहरूद्वारा गर्भको रक्षा गर्नुपर्छ।

जुन गर्भिणी स्त्रीले उपरोक्त नियमहरूको निष्ठापूर्वक पालन गर्छिन्, उनको गर्भबाट धर्मज्ञ, शीलवान् एवं दीर्घायु पुत्र उत्पन्न हुन्छ। यी नियमहरूको उल्लङ्घन गर्दा गर्भपतनको आशङ्का रहन्छ। त्यसैले हे प्रिये! तिमी यी नियमहरूको निष्ठापूर्वक पालन गर्दै प्रयत्नपूर्वक आफ्नो गर्भको रक्षा गर। तिम्रो कल्याण होस्! अब म प्रस्थान गर्छु।'

दितिले भनिन् - 'जुन आज्ञा स्वामी, म निष्ठापूर्वक हजुरको आज्ञाको पालन गर्नेछु।' यसरी दितिलाई उपदेश दिएर तथा उनले पतिको आज्ञा स्वीकार गरेपछि महर्षि कश्यप अन्तर्धान हुनुभयो। त्यसपछि दिति यथावत् निष्ठापूर्वक सम्पूर्ण नियम-संयमको पालन गर्न थालिन्। कालान्तरमा प्रभुको कृपाले उनले उनन्चास पुत्रहरू प्राप्त गरिन् जो समस्त लोकमा मरुद्गणका रूपमा विख्यात छन्।"

भगवान् श्रीकृष्ण पुनः भन्नुहुन्छ - "हे राजन्! यस विधिअनुसार जो पनि स्त्रीले मदन द्वादशी व्रतको पालन गर्नेछिन्, उनलाई श्रेष्ठ पुत्र एवं पतिको सुख प्राप्त हुनेछ तथा यस लोकमा समस्त सुखहरूको आनन्द भोगेर उनी अन्त्य समयमा उत्तम गतिलाई प्राप्त हुनेछिन्।"

॥यसरी भविष्यपुराणको उत्तरपर्वमा वर्णित मदन द्वादशी माहात्म्य सम्पूर्ण हुन्छ॥