नरसिंह द्वादशी व्रत कथा

फागुन शुक्ल पक्ष

ऋषि दुर्वासा भन्नुहुन्छ - "हे महामुने! नृसिंह द्वादशी व्रत गर्दा एक राजाले जुन फल प्राप्त गरेका थिए, म त्यसको वर्णन गर्दैछु, तिमी ध्यानपूर्वक सुन। किम्पुरुषवर्षमा एक सुप्रसिद्ध राजा शासन गर्थे जसको नाम भरत थियो। राजा भरतले एक पुत्ररत्न प्राप्त गरेका थिए, जसको नाम वत्स थियो। समय आएपछि भरतले राज्यको उत्तरदायित्व आफ्ना छोरा वत्सलाई सुम्पेर उनलाई राजा वत्सको रूपमा प्रतिष्ठित गरे।

कालान्तरमा कुनै भीषण युद्धमा राजा वत्स आफ्ना शत्रुहरूबाट पराजित भए र उनको राज्य, वैभव, सम्पत्ति आदि सबै शत्रुहरूको अधीनमा भयो। शत्रुहरूबाट परास्त भएर राजा आफ्नी धर्मपत्नीसहित पैदलै वनतर्फ लागे र त्यहाँ पुगेर ऋषि वशिष्ठको आश्रममा निवास गर्न थाले। यसरी आश्रममा निवास गर्दै राजाका केही दिनहरू बिते।

एकदिन मुनि वशिष्ठले राजालाई सोध्नुभयो - 'हे राजन्! आफ्नो राज्य आदि त्यागेर यस आश्रममा निवास गर्नुको तिम्रो के प्रयोजन छ? तिमी कुन कारणले यस महान आश्रममा निवास गरिरहेका छौ?'

राजाले भने - 'हे मुनिवर! दुष्ट शत्रुहरूले मलाई युद्धमा पराजित गरेर मबाट मेरो राज्य र राजकोष आदि सबै खोसेका छन्। त्यसैले असहाय भएर म तपाईंको शरणमा आएको छु। तपाईं आफ्ना आशिर्वचनद्वारा मेरो चित्तलाई शीतलता प्रदान गर्ने कृपा गर्नुहोस्।'"

ऋषि दुर्वासा भन्नुहुन्छ - "हे मुने! राजा वत्सको यस प्रकारको निवेदनपछि वशिष्ठ मुनिले राजालाई विधिवत् नृसिंह द्वादशी व्रत गर्ने उपदेश दिनुभयो। राजाले वशिष्ठ मुनिको निर्देशानुसार द्वादशी व्रतको पालन गरे जसको प्रभावले भगवान नृसिंह ती राजामाथि अत्यन्त प्रसन्न हुनुभयो। भगवान नृसिंहले वरदान स्वरूप राजालाई एउटा यस्तो दिव्य चक्र प्रदान गर्नुभयो जो युद्धभूमिमा समस्त शत्रुहरूको नाश गर्न सक्षम थियो।

त्यस दिव्य चक्रको सहायताले महाराज वत्सले समस्त शत्रुहरूलाई पराजित गरी आफ्नो राज्य पुनः प्राप्त गरे। राज्य सिंहासनमा आसिन भएर ती धर्मात्मा राजाले एक हजार अश्वमेध यज्ञ सम्पन्न गरे। पुण्य कर्महरूको प्रभावले अन्त समयमा ती राजा भगवान विष्णुको परम धाममा पुगे।

हे मुने! सम्पूर्ण पापहरूको नाश गर्ने यो नृसिंह द्वादशी धनय छ। तिम्रो जिज्ञासा शान्त पार्नका लागि मैले यसको वर्णन गरिदिएको छु। यस व्रतको माहात्म्य सुनेपछि तिमी आफ्नो इच्छानुसार आचरण गर।"

॥ यस प्रकार श्रीवराहपुराणमा वर्णित नृसिंह द्वादशी माहात्म्य सम्पूर्ण हुन्छ ॥